भैरहवा । तराईमा केही दिन यता चिसो ह्वात्तै बढेको छ । बिहानैदेखि भैरहवामा हुस्सु र कुहिरो लागेपछि चिसो बढेको हो । भैरहवामा पनि चिसो बढेसँगै शीतलहर सुरु भएको छ । आइतबारसम्म घाम लाग्दै आएपनि सोमबार देखि भने शीतलहर चल्न थालेको र बुधबार पनि चिसो अत्यधिक बढेको छ ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाको तथ्याङ्क अनुसार अबको केही दिनसम्म तराईका धेरै स्थानहरूमा हुस्सु कुहिरो लाग्ने र सो समयमा दैनिक जनजीवनमा असर पर्न सक्ने देखीएको छ ।
चिसोबाट आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध पनि गरेको छ । चिसोले बिहान आवतजावत गर्ने विशेष गरी विद्यार्थी, मजदुर, बालबालिका, गरिब असाहय, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् ।
शीतलहर सुरु भएसंगै सिद्धार्थनगर नगरपालिकाका प्रमुख इस्तियाक अहमद खाँले अत्यावश्यक काम बाहेक घर बाहिर ननिस्किन स्थानीय वासीहरुलाई आग्रह गरेका छन् ।
चिसो तथा शीतलहरका कारण जोखिममा पर्न सक्ने खास गरी अति विपन्न परिवार, ज्येष्ठ नागरिक, बालबालिका, गर्भवती महिला, सुत्केरी महिला तथा जोखिमयुक्त र उच्च जोखिमयुक्त क्षेत्र तथा समुदाय पहिचान गरेर उनीहरूलाई जोगाउनका लागि विभिन्न कदम चाल्ने उनले जानकारी दिए ।
यसैगरी भिम अस्पतालका सुचना अधिकारी डा. आरिफ हुसेनले चिसोको कारणले धेरै जसो बालबालिकाहरुमा रुघाखोकी, छातीको इन्फेक्सन, निमोनिया, रुघाखोकी साथ साथै बान्ता आउने, ज्वरो आउनु, पेट दुख्नु लगायत विभिन्न समस्याहरु देखा पर्दछ, जुन अत्याधिक चिसो भएपछि देखिने लक्षणहरु हुन् ।
यस्ता लक्षणहरु देखिएमा बच्चाहरुलाई आफैले औषधि किनेर खुवाउनु भन्दा अस्पतालमा चिकित्सककाे परार्मशले मात्र औषधिहरु दिने गर्नु पर्छ । डा. हुसेन भन्छन्, ‘बाहिर पसलहरुबाट औषधि किने खुवाउँदा बच्चाहरु सिरियस हुने र निमोनिया अझ बढ्ने देखीन्छ ।’ उनले जाडोमा ढोका थुनेर कोइला, हिटर वा ग्याँस बालेर नबस्न पनि सुझाव दिए ।
जाडोको समयमा पानी कम खाने बानी हुँदा डिहाइड्रेसन बढ्न सक्ने भएकाले तातो पानी खानुपर्ने उनकाे सुझाव छ । चिसो अत्याधिक बढेकाले सबैमा सजकता अपनाउन डा. हुसेनले आग्रह गरेका छन् ।




