काठमाडौं । काठमाडौंलाई जोड्ने चखेल-मातातीर्थ सडक खण्ड १५ दिनका लागि बन्द हुने भएको छ । मकवानपुरको महालक्ष्मी खोला-मातातीर्थ सडक अन्तर्गत भिर कटान कार्यका लागि यो सडक बन्द गरिने भएको हो ।
बागमती प्रदेश सरकारको पूर्वाधार विकास कार्यालय मकवानपुरको समन्वयमा भइरहेको सडक स्तरोन्नति कार्यको क्रममा सडक बन्द गर्न लागिएको हो । इन्द्रसरोवर गाउँपालिका ५ का वडाध्यक्ष दुतराज तितुङले उक्त जानकारी दिएका छन् ।
उनका अनुसार महालक्ष्मी खोला नजिकैको जोखिमपूर्ण भिर कटान गर्न सडक बन्द गर्नुपर्ने आवश्यकता देखिएको छ । वडाध्यक्ष तितुङका अनुसार महालक्ष्मी खोला क्षेत्रबाट चखेल देउराली हुँदै काठमाडौं जाने यो सडक पुस २२ गतेदेखि माघ ७ गतेसम्म पूर्ण रूपमा बन्द गरिने छ ।
सडक निर्माण कार्यलाई तीव्रता दिनका लागि सवारी आवागमनमा अवरोध नगर्ने वातावरण बनाउनु अपरिहार्य रहेको उनले बताए । वैकल्पिक मार्ग प्रयोग गर्न र समय तालिका अनुरूप यात्रा योजना बनाउन सम्बन्धित सबैलाई अनुरोध गरिएको छ ।
सुझाव र विकल्प
सडक बन्द भएको अवधिमा यात्रुहरूले वैकल्पिक मार्गको उपयोग गर्नुपर्नेछ । सम्बन्धित निकायले यात्रुहरूको सुविधा र सूचनाका लागि समयमै जानकारी प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गरेको जनाएको छ ।




