काठमाडौं । वैदेशिक रोजगारीको नाममा विभिन्न देश पठाइदिने भन्दै ठगी गर्ने सर्लाहीका एक युवासहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा सर्लाही गोडैता नगरपालिका १० का २८ वर्षीय राकेश कुमार रावत, काभ्रेपलाञ्चोक रोशी गाउँपालिका ११ का ३३ वर्षीय दुधराज थिङ र दाङ तुल्सीपुर उपमहानगरपालिका ५ की ३४ वर्षीया प्रभा श्रेष्ठ रहेका छन् ।
रावतले मौरिसस पठाइदिने भन्दै ६ लाख ४५ हजार रुपैयाँ, थिङले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ र श्रेष्ठले सिंगापुर पठाइदिने भन्दै ७ लाख ८ हजार रुपैयाँ पीडितहरूबाट लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरूलाई विभिन्न स्थानबाट पक्राउ गरेको हो । उनीहरूले आकर्षक तलब र अवसरको प्रलोभनमा विभिन्न व्यक्तिहरूलाई लामो समयसम्म झुक्याउँदै ठगी गरेका थिए ।
पक्राउ परेका व्यक्तिहरूलाई थप अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग पठाइएको छ । प्रहरीले यस प्रकारका प्रलोभनमा नपर्न आम नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।




