काठमाडौं । सशस्त्र प्रहरी बलको मधेश प्रदेश (छिन्नमस्ता बाहिनी) का डीआईजी कालीदास धौबजीलाई काठमाडौं तलबास गरिएको छ । तस्करी नियन्त्रणमा असफलता र सुरक्षाकर्मीको मृत्युका घटनालाई लिएर उनलाई १५ दिनभित्र सुधारका लागि अल्टिमेटम दिइएको छ ।
सिरहा र सर्लाहीका घटनाहरूको कारण
गत मंसिर १६ गते सिरहाको बडहरी बेस क्याम्पमा तस्करीको मदिरा बोकेको गाडीले सशस्त्र प्रहरी नायब निरीक्षक (सई) लक्ष्मणप्रसाद यादवलाई ठक्कर दिएर मारेको थियो। सई यादवले गाडीलाई रोक्ने प्रयास गर्दा ठक्कर दिइएको थियो । घटना अघि यादवले डीआईजी धौबजीमाथि तस्करी रोक्न दबाब दिएको आरोप लगाएका थिए ।
त्यस्तै, सर्लाहीमा यात्रुबाहक बसले सशस्त्र प्रहरी निरीक्षक विजयकुमार तुलाधरलाई मङ्गलबार राति किचेर मारेको छ । आफ्नै कार्यालय अगाडि फोनमा कुरा गरिरहेका तुलाधरलाई बागमती प्रदेश ०१–००६ ख २००४ नम्बरको लोकल बसले ठक्कर दिएको थियो ।
तस्करीका घटनाहरूमा संलग्नताको छानबिन
मधेश प्रदेशका विभिन्न जिल्लाहरूमा तस्करी बढेको, राजस्व संकलन प्रभावित भएको, र तस्करीमा बाहिनी तहसम्मको संलग्नता रहेको सूचनाका आधारमा धौबजीलाई काठमाडौं तलबास गरिएको हो । धनुषा, बारा र अन्य जिल्लाहरूमा तस्करी नियन्त्रणमा लापरवाही भएका गुनासाका कारण थप सुरक्षाकर्मीलाई छानबिनका लागि तानिएको छ ।
– सशस्त्र प्रहरी १२ नम्बर गण बाराका एसपी सन्तोषबहादुर सिंह ।
– ८ नम्बर गण धनुषाका डीएसपी दर्शन गिरी ।
– मटिअर्वा बाराका डीएसपी विदुर भट्टराई र पिपरपाती गुल्मका डीएसपी राजीव थापा ।
– महोत्तरीको सम्सी बीओपीका कृष्णबहादुर गुरुङ ।
– धनुषाको फुलगामा बीओपीका गणेशकुमार बोहरा ।
१५ दिने अल्टिमेटम
धौबजीलाई तस्करी नियन्त्रण गर्न, मदिरा तस्करीका घटना रोक्न र सुरक्षाकर्मीको ज्यान जाने जस्ता घटनामा सुधारका लागि १५ दिने समयसीमा दिइएको छ । स्रोतका अनुसार तस्करीमा उच्चस्तरको सेटिङ रहेको र बाहिनी तहसम्मको संलग्नताका कारण यस्ता घटनाहरू भएको हुन सक्ने आशंका गरिएको छ । छानबिनबाट दोषी देखिएमा कडा कारबाही गरिने जनाइएको छ ।




