काठमाडौं । क्रोएसिया पठाउने प्रलोभनमा रकम ठगी गरेको अभियोगमा भोजपुर साल्पासिलिछो गाउँपालिका ५ घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका २ बस्ने २९ वर्षीय निम पासी शेर्पालाई प्रहरीले पक्राउ गरेको छ ।
शेर्पाले क्रोएसिया पठाइदिन्छु भन्दै दुई पीडित व्यक्तिबाट १५ लाख रूपैयाँ लिएर सम्पर्कबिहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
उनलाई काठमाडौं महानगरपालिका १२ टेकुबाट आइतबार पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका शेर्पालाई वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौंमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि पठाइएको छ ।
पीडितहरूको उजुरीका आधारमा थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ । प्रलोभनमा नपरी सजग रहन र यस्ता ठगी घटनाबाट बच्नका लागि वैदेशिक रोजगार सम्बन्धी कानूनी प्रक्रिया पुर्याउन प्रहरीले सबैलाई सचेत गराएको छ ।




