धनुषा । धनुषा जिल्लाको बटेश्वर गाउँपालिकाका युवाले पछिल्लो समय सरकारी सेवामा उल्लेखनीय सफलता हासिल गरेका छन् । लोकसेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा प्रवेश गर्ने युवाको संख्या लगातार बढिरहेको छ, जसमा शिक्षा र सामाजिक प्रतिष्ठासँग जोडिएको आकर्षण प्रमुख कारण भएको बताइएको छ ।
स्थानीयका अनुसार, सुरक्षित जागिर, नियमित सेवा सुविधा र सामाजिक प्रतिष्ठा सरकारी सेवामा आकर्षणको मुख्य कारण हुन् । यहाँका अभिभावकहरूले आफ्नो सन्तानलाई दक्ष बनाउन र शिक्षा क्षेत्रलाई प्राथमिकता दिएका छन्, यसले गर्दा यस क्षेत्रका युवाले सरकारी सेवामा प्रवेश गर्न सफलता हासिल गरेका छन् ।
स्रोतका अनुसार, हालसम्म तीन सयदेखि चार सय युवाले लोकसेवा आयोगको परीक्षा पास गरेर सरकारी सेवामा योगदान पुर्याइसकेका छन् । शिक्षक सेवा आयोग मार्फत धेरैजसो युवाले शिक्षकका रूपमा काम गरिरहेका छन् भने, स्वास्थ्य सेवाका विभिन्न पदहरूमा पनि युवाहरू कार्यरत छन् ।
सार्वजनिक सेवामा प्रवेश गर्ने लहरले गाउँका युवामा सरकारी सेवामा जागरुकता र उत्साह बढाएको छ । तयारी कक्षाहरू र अनलाइन माध्यमद्वारा तयारी गर्ने युवाहरू देख्दा आगामी वर्षहरूमा सरकारी सेवामा अझ बढी युवाको सहभागिता रहने अपेक्षा गरिएको छ ।
गाउँपालिकाका जनप्रतिनिधिहरूले यसरी शिक्षाको विकासमा जोड दिने र सरकारी सेवामा युवाहरूको सहभागिता बढाउने प्रयासहरूलाई अझ प्रभावकारी बनाउनु पर्ने कुरामा जोड दिएका छन् ।




