काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र रोमानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका १९ घर भई काठमाडौं महानगरपालिका २६ बस्ने ५५ वर्षीया चन्द्रकला रदाखु राई र महोत्तरी सोनाम गाउँपालिका २ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ५४ वर्षीया सरिता कुमारी यादव रहेका छन् ।
पक्राउ मध्ये चन्द्रकलाले अमेरिका पठाइदिन्छु भन्दै ७ पीडितहरूबाट ४२ लाख रूपैयाँ र सरिताले रोमानिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख ३० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले चन्द्रकलालाई काठमाडौं बौद्धबाट बिहीबार र सरितालाई ललितपुर महालक्ष्मी नगरपालिका ५ बाट शुक्रबार पक्राउ गरेको हो ।
चन्द्रकलालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने सरितालाई वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




