काठमाडौं । नक्कली शैक्षिक प्रमाणपत्रको प्रयोग गरी १४ वर्षदेखि अध्यापन गराउँदै आएका एक शिक्षक पक्राउ परेका छन् । पक्राउ पर्नेमा काभ्रेको धुलिखेल नगरपालिका ९ निवासी ४८ वर्षीय विकास श्रेष्ठ रहेका छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।
अनुसन्धानका क्रममा श्रेष्ठले त्रिभुवन विश्वविद्यालय अन्तर्गत मीन भवन कमर्स क्याम्पसबाट स्नातकोत्तर गरेको नक्कली शैक्षिक प्रमाणपत्र तयार पारेको पाइएको छ । साथै, स्नातक र प्लस टु तहका प्रमाणपत्र पनि नक्कली रहेको खुल्न आएको छ ।
प्रमाणपत्र किर्तेको आरोप
काभ्रे उच्च माविमा २०६७ सालदेखि अध्यापन गराउँदै आएका श्रेष्ठले अस्थायी दरबन्दीमा निमावि तहको अध्यापन सुरु गरेका थिए । पछिल्लो समय उनले प्लस टुसम्मको अध्यापन गराउँदै आएका थिए । नक्कली प्रमाणपत्रको आधारमा उनले अध्यापन अनुमति पत्र समेत लिएको पाइएको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी अंगुर जिसीले भने, “प्लस टु देखि स्नातकोत्तरसम्मका सबै शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि उनलाई पक्राउ गरी अनुसन्धान सुरु गरेका छौं ।” श्रेष्ठले करिब १० वर्षअघि ३० हजार रुपैयाँमा नक्कली शैक्षिक प्रमाणपत्र बनाएको प्रहरीसँग बयान दिएका छन् ।
त्रिभुवन विश्वविद्यालयमार्फत प्रमाणपत्र भेरिफिकेसन गर्दा कुनै रेकर्ड नभेटिएपछि उनीमाथि सरकारी कागजात कीर्तेको आरोपमा कारबाही अघि बढाइएको छ । प्रहरीले उनलाई कागजात किर्ते तथा ठगीको अभियोगमा कानूनी प्रक्रियामा ल्याउने जनाएको छ ।




