काठमाडौं । वैदेशिक रोजगारीका नाममा रकम ठगी गरेको अभियोगमा ३ जनालाई काठमाडौं उपत्यकाको विभिन्न स्थानबाट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकाहरूमा बाग्लुङ ताराखोला गाउँपालिका ३ का ३४ वर्षीय तिलक बहादुर कार्की, प्युठान नौबहिनी गाउँपालिका ६ का ३६ वर्षीय हरि बहादुर बिष्ट र स्याङ्जा गल्याङ नगरपालिका ८ का ३४ वर्षीया जमुना परियार रहेका छन् ।
पक्राउ परेका आरोपितहरूले विभिन्न मुलुकहरूमा रोजगारका लागि पठाइदिन्छु भनेर पीडितहरूलाई झुक्याइ रकम संकलन गरेका थिए । तिलकले युके पठाइदिन्छु भन्दै एक पीडितबाट १ लाख रुपैयाँ, हरिले अमेरिका पठाइदिन्छु भन्दै दुई पीडितहरूबाट २ लाख रुपैयाँ र जमुनाले अष्ट्रेलिया पठाइदिन्छु भन्दै तीन पीडितहरूबाट २८ लाख रुपैयाँ ठगी गरेको अभियोगमा पक्राउ परेका हुन् ।
पक्राउपछि ती व्यक्तिहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट थप अनुसन्धान र कारवाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचल, काठमाडौं पठाइएको छ । यो घटनाले वैदेशिक रोजगारका नाममा ठगीका घटनाहरूलाई पुन: सतर्कताका साथ चासो लिनुपर्ने आवश्यकता औंल्याएको छ ।




