बाँके । नक्कली जग्गा धनी पुर्जा बनाएर बैंकमा धितो राखी ठगी गरेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक बनेपा नगरपालिका १ निवासी २२ वर्षीय गौरव कार्की, ३५ वर्षीया ईश्वरी माया रोका र बाराका ३५ वर्षीय दिलिप कुमार सिंह रहेका छन् ।
उनीहरूले डुडुवा गाउँपालिका ५ स्थित जुम्ला चन्दननाथ नगरपालिका ८ निवासी एक पीडितको ३३ कठ्ठा जग्गाको नक्कली पुर्जा बनाएर मुक्तिनाथ विकास बैंक लिमिटेड, लगनटोल, काठमाडौंबाट १ करोड २० लाख रुपैयाँ कर्जा लिएर ठगी गरेको आरोप छ ।
जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरी टोलीले उक्त घटनामा संलग्न रहेको आरोपमा अभियुक्तहरूलाई काठमाडौंको बुद्धनगर र कोटेश्वर क्षेत्रबाट पक्राउ गरेको हो ।
प्रहरीले हाल घटनाको थप अनुसन्धान जारी राखेको जनाएको छ । यस घटनाले नक्कली कागजातका आधारमा बैंकिङ प्रणाली दुरुपयोग गरी हुने ठगी प्रति सचेत हुन आवश्यक रहेको देखाएको छ ।




