काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ४ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सल्यान छत्रेश्वरी गाउँपालिका ६ घर भई काठमाडौं महानगरपालिका १४ बस्ने २५ वर्षीय सुनिल दसौदी, काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका ५ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने ३१ वर्षीय विकाश दवाडी, गोरखा शहिदलखन गाउँपालिका ७ घर भई काठमाडौं महानगरपालिका १६ बस्ने ३७ वर्षीय सुरेन्द्र विक र काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने २४ वर्षीया विशाखा पौडेल रहेका छन् ।
सुनिलले सर्विया पठाइदिछु भन्दै १ जना पीडितबाट २२ लाख ३८ हजार रूपैयाँ, विकाशले जापान पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ३ लाख रूपैयाँ, सुरेन्द्रले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ९७ लाख ५४ हजार रूपैयाँ र विशाखाले कुबेत पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ६० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सुनिललाई काठमाडौं टेकुबाट, सुरेन्द्रलाई काठमाडौं महानगरपालिका १४ बाट र विशाखालाई काठमाडौं महानगरपालिका १२ बाट आइतबार तथा विकाशलाई ललितपुर महालक्ष्मी नगरपालिका ५ बाट सोमबार पक्राउ गरेको हो ।
पक्राउ मध्ये सुनिल, विकाश र विशाखालाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं तथा सुरेन्द्रलाई जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।




