काठमाडौं । अमेरिकाले अवैध रुपमा बसिरहेका आप्रवासीहरुलाई देश निकाला गर्ने सूची सार्वजनिक गरेको छ, जसमा १,३६५ नेपाली समेत रहेका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अवैध आप्रवासीहरुलाई फिर्ता पठाउने नीति अपनाएपछि उनीहरु निष्कासनको सूचीमा परेका हुन् ।
अमेरिकी अध्यागमन कार्यालयले सार्वजनिक गरेको विवरण अनुसार विभिन्न देशका १४ लाख ४५ हजार ५४९ जना आप्रवासीहरु अमेरिका छोड्नुपर्ने अवस्थामा छन् । तीमध्ये नेपाली आप्रवासीको संख्या १ हजार ३६५ जना रहेको छ ।
राष्ट्रपति ट्रम्पले आफ्नो प्रशासनको नीति अनुसार अवैध रुपमा बसिरहेका आप्रवासीहरुलाई स्वदेश फिर्ता गर्ने योजनालाई तीव्रता दिएका छन् । यस अन्तर्गत अध्यागमन नियम उल्लंघन गर्ने, भिसा अवधि समाप्त भइसकेका तथा गैरकानुनी रुपमा अमेरिका प्रवेश गरेका व्यक्तिहरुलाई देशनिकाला गर्ने प्रक्रिया अघि बढाइएको हो ।
नेपालसहित विभिन्न देशका आप्रवासीहरुलाई निष्कासन गर्ने निर्णयसँगै प्रभावित आप्रवासी तथा मानवअधिकार समूहहरुले चिन्ता व्यक्त गरेका छन् । उनीहरुले यो निर्णय आप्रवासी समुदायका लागि कठोर रहेको भन्दै अमेरिकामा रहेका नेपाली समुदायलाई आवश्यक कानुनी सहायता लिन आग्रह गरेका छन् ।




