काठमाडौं । ओखलढुंगामा भएको सडक दुर्घटनाका फरार चालक भक्तपुरमा फेला परेका छन् । बिहीबार मानेभञ्याङ गाउँपालिका ४ स्थित खोला किनारमा ना १ ज ६४२१ नम्बरको गाडी दुर्घटनाग्रस्त अवस्थामा भेटिएको थियो । दुर्घटनामा परी एउटै परिवारका तीन जनाको मृत्यु भएको थियो भने चालक फरार रहेका थिए ।
मृत्यु हुनेहरूमा केपिलासगढी गाउँपालिकाकी ५६ वर्षीया मायादेवी गुरुङ, उनका छोरा २८ वर्षीय पुजन गुरुङ र ४५ वर्षीया तारा गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाका डिएसपी कृष्ण खड्काले जानकारी दिए । गाडीमा चालकसहित चार जना सवार रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।
चालक घटनास्थलमा नभेटिएपछि खोजी तीव्र पारिएको थियो । २२ वर्षीय चालक अनिल पण्डित काभ्रेमा हुन सक्ने अनुमान गर्दै प्रहरीले खोजी गरिरहेको थियो । बनेपास्थित शीर मेमोरियल अस्पतालमा सोधपुछ गर्दा उनी भक्तपुर इन्टरनेशनल अस्पतालमा उपचाररत रहेको खुलेको थियो । प्रहरीले त्यही अस्पतालबाट उनलाई नियन्त्रणमा लिएको छ ।
चालक पण्डितको हात, अनुहार, र छातीमा चोट लागेको छ, र हाल उनको उपचार जारी रहेको छ । हालसम्म घटना सम्बन्धी सोधपुछ नभए पनि प्रारम्भिक अनुसन्धानका आधारमा दुर्घटना राति १:३० देखि २:०० बजेको बीचमा भएको अनुमान गरिएको छ ।
दुर्घटनाको विवरण:
उक्त गाडी दिक्तेलबाट मायादेवी गुरुङको उपचारका लागि काठमाडौं जाँदै थियो । गाडी राति १०:०० बजेतिर छुटेको र त्यसपछि दुर्घटना भएको हुन सक्ने प्रहरीको भनाइ छ ।
स्थानीयले बिहान मात्र दुर्घटनाबारे जानकारी पाएपछि प्रहरीलाई खबर गरेका थिए । गाडी सडकबाट करिब १०० मिटर तल खसेको बताइएको छ । प्रहरीले घटना बारे थप अनुसन्धान गरिरहेको छ ।




