नयाँदिल्ली । आज भारतमा आर्थिक वर्ष २०२५/२६ का लागि बजेट सार्वजनिक गरिनेछ । भारतीय अर्थमन्त्री निर्मला शितारमण आज बिहान ११:०० बजे यो बजेट प्रस्तुत गर्ने कार्यक्रम तय गरिएको छ । हिजो अर्थमन्त्री निर्मलाले आर्थिक सर्वेक्षण पनि प्रस्तुत गरेकी थिइन् ।
सर्वेक्षणका अनुसार, आगामी आर्थिक वर्ष २०२६ (१ अप्रिल २०२५ देखि ३१ मार्च २०२६) मा कुल गार्हस्थ्य उत्पादन (GDP) वृद्धिदर ६.३५ देखि ६.८५ प्रतिशतका बीच रहने अनुमान गरिएको छ । यस्तै, खुद्रा मुद्रास्फीति २०२४ को अप्रिलदेखि डिसेम्बर महिनासम्म ४.९ प्रतिशतसम्म बढेको देखिएको छ ।
बजेट मन्तव्यपछि नेपाल लगायत सार्क राष्ट्रहरूको लागि भारतले सहयोग घोषणा गर्ने अपेक्षा गरिएको छ । भारतले केहि वर्षयता भुटानलाई सबैभन्दा बढी बजेट मार्फत सहयोग दिँदै आएको छ । भारतको पहिलो आर्थिक सर्वेक्षण १९५०/५१ मा केन्द्रीय बजेटको एक हिस्सा बनाइएका थिए । तर, १९६४ देखि आर्थिक सर्वेक्षणलाई केन्द्रीय बजेटबाट अलग गरी सार्वजनिक गरिएको छ, र यसपछि प्रत्येक वर्ष बजेट प्रस्तुत गर्नुभन्दा एक दिन पहिले आर्थिक सर्वेक्षण सार्वजनिक हुने परम्परा छ ।




