सर्लाही । गैरसरकारी संस्था महासंघ नेपाल सर्लाहीसहित विभिन्न सामाजिक संघ संस्थाहरूले विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम गर्न सरकारलाई आग्रह गरेका छन् ।
सरकारले विवाहको न्यूनतम उमेर घटाएर १८ वर्ष कायम गर्ने अध्यादेश संसद्मा पेस गरेपछि सर्लाहीका १५ वटा संघ संस्थाका प्रतिनिधिले विवाहको उमेर २० वर्ष नै कायम राख्न आग्रह गरेका हुन् ।
गैसस महासंघको केन्द्रीय सदस्य लक्ष्मी सिंह नेतृत्वको एक टोलीले जिल्ला प्रशासन कार्यालय सर्लाहीका प्रमुख जिल्ला अधिकारी तुलसीबहादुर श्रेष्ठमार्फत ध्यानाकर्षण पत्र बुझाएको छ ।
संयुक्त रूपमा जारी गरिएको प्रेस विज्ञप्तिमा बालविवाहका कारण बालबालिका तथा किशोर किशोरीको शारीरिक, मानसिक र सामाजिक जीवनमा नकारात्मक प्रभाव पर्ने उल्लेख गरिएको छ ।
साथै, बालविवाह रोक्न तथा युवा पुस्ताको समुचित विकासका लागि विवाहको न्यूनतम उमेर २० वर्ष नै कायम राख्नुपर्नेमा सरोकारवाला पक्षको ध्यानाकर्षण गराइएको छ ।
यसअघि पनि विभिन्न सामाजिक संघ संस्थाहरूले बालविवाह रोकथाम तथा युवाको उज्जवल भविष्य सुनिश्चित गर्नका लागि विवाहको उमेर २० वर्ष नै रहनुपर्ने माग गर्दै आएका छन् ।




