काठमाडौं । क्यान्सर नियन्त्रणलाई प्राथमिकता दिँदै सरकारले सुर्तीजन्य पदार्थको अगाडि र पछाडिको सम्पूर्ण भागमा चेतावनीमूलक सन्देश अनिवार्य गर्ने निर्देशिका स्वीकृत गरेको छ । यसअघि ९० प्रतिशत भागमा चेतावनीमूलक सन्देश राख्ने व्यवस्था रहेकोमा अब शतप्रतिशत भागमा यस्तो सन्देश राख्नुपर्ने नयाँ निर्देशिका लागू गरिएको छ ।
सरकारका अनुसार, चुरोट तथा सुर्तीजन्य पदार्थको प्रयोग घटाउन तथा जनस्वास्थ्य जोगाउन यो कदम उठाइएको हो । विभिन्न अन्तर्राष्ट्रिय अध्ययनहरूले चेतावनीमूलक सूचनाका कारण सुर्ती तथा चुरोट छाड्नेको संख्या बढ्ने देखाएको छ ।
थाइल्याण्डमा यस्तो चेतावनी लागू गरेपछि ८५ प्रतिशतले धुम्रपान त्यागेको तथ्यांक छ, भने पाकिस्तान र म्यानमारमा पनि प्रभावकारी नतिजा देखिएको छ । नेपालमा प्रत्येक वर्ष ३७ हजार मानिसको मृत्यु सुर्तीजन्य पदार्थको सेवनका कारण हुने सरकारी तथ्यांकले देखाएको छ ।
नयाँ निर्देशिका अनुसार, अब सुर्तीजन्य पदार्थका बट्टा, प्याकेट, र्यापर्स, पेटी तथा पार्सल प्याकेजिङमा स्वास्थ्य चेतावनीसहितका सन्देश र चित्र अनिवार्य रूपमा छापिनेछ । यो व्यवस्थाले नेपालमा पनि सुर्तीजन्य पदार्थको प्रयोगकर्ता घट्ने र क्यान्सर तथा अन्य रोगहरूको जोखिम कम हुने अपेक्षा गरिएको छ ।




