काठमाडौं । हमासले इजरायलसँगको युद्धविराम सम्झौताको उल्लंघन भएको आरोप लगाउँदै बन्धकहरुको रिहाइ स्थगित गर्ने घोषणा गरेको छ । हमासको यो निर्णयले युद्धविराम सम्झौतामा थप संकट उत्पन्न गराएको छ ।
पूर्वनिर्धारित सम्झौता अनुसार शनिबार सयौं प्यालेस्टिनी कैदी र तीन इजरायली बन्धक मुक्त गरिने योजना थियो । सोही क्रममा नेपाली नागरिक विपिन जोशीको पनि रिहाइ हुने अपेक्षा गरिएको थियो । तर, हमासले इजरायललाई गाजा क्षेत्रमा गोलाबारी जारी राखेको, विस्थापित प्यालेस्टिनीहरूको पुनर्वास ढिलाइ भएको तथा मानवीय सहायता अवरुद्ध पारिएको आरोप लगाउँदै बन्धक रिहाइ रोकेको हो ।
हमासको सैन्य शाखाका प्रवक्ता अबु उबैदाले पछिल्ला तीन हप्तामा इजरायलले पटक पटक युद्धविराम सम्झौता उल्लंघन गरेको दाबी गर्दै सम्झौताका सर्त पालना नगरिएको कारण बन्धकको रिहाइ अर्को सूचना नआएसम्म रोकिएको स्पष्ट पारेका छन् ।
इजरायल र हमासबीच १९ जनवरी २०२५ देखि युद्धविराम लागू भएको थियो, जसअन्तर्गत दुवै पक्षले बन्धक आदान प्रदान गर्न थालेका थिए । यस घटना बारे इजरायलको आधिकारिक प्रतिक्रिया आउन बाँकी छ । तर, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हमासले बन्धक रिहा नगरेमा युद्धविराम समाप्त भएको घोषणा गर्नुपर्ने अवस्था आउने चेतावनी दिएका छन् ।
उनले हमासलाई समाप्त पार्ने रणनीति अपनाउन बाध्य हुने संकेत गरेका छन् । युद्धविराम सम्झौतामा देखिएको नयाँ संकटले क्षेत्रीय स्थिरता थप जटिल बनाउने आकलन गरिएको छ । अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई सम्झौताको पालना गर्न आग्रह गरिरहेका छन् ।




