काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी पोर्चुगल र जापान पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा डोटी बडीकेदार गाउँपालिका ३ घर भई काठमाडौं महानगरपालिका १४ बस्ने २९ वर्षीय पूर्ण बहादुर जेठारा र नुवाकोट बेलकोटगढी नगरपालिका १२ घर भई काठमाडौं नागार्जुन नगरपालिका २ बस्ने ३७ वर्षीय राज कुमार लामा रहेका छन् ।
पक्राउ मध्ये पूर्णबहादुरले पोर्चुगल पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ९ लाख रूपैयाँ र राजकुमारले जापान पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले पूर्णबहादुरलाई काठमाडौं महानगरपालिका १४ बाट र राजकुमारलाई काठमाडौं नागार्जुन नगरपालिका २ बाट पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




