काठमाडौं । वैदेशिक रोजगारीको लागि अमेरिका पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिरहा नगरपालिका ८ घर भई हाल काठमाडौं ३२ तीनकुने बस्ने ३३ वर्षीय रमेशकुमार ठाकुर र धनुषा विदेह नगरपालिका ५ घर भई हाल ललितपुर महालक्ष्मी नगरपालिका ५ बस्ने २९ वर्षीय विशाल ठाकुर रहेका छन् ।
दुबैलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले बुधबार काठमाडौं ३२ कोटेश्वरबाट पक्राउ गरेको प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए । अमेरिका पठाइदिने बहानामा दुई जना व्यक्तिबाट २१ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि उनीहरूलाई पक्राउ गरिएको आचार्यले बताए ।
‘आकर्षक तलबको प्रलोभनमा पारेर अमेरिका लैजाने भन्दै रकम लिएर लामो समयसम्म झुक्यानमा पारी सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए,’ आचार्यले भने । पक्राउ परेका दुबैलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको आचार्यले बताए ।




