काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई ठगी गरेको आरोपमा धादिङ त्रिपुरासुन्दरी गाउँपालिका ३ निवासी तथा हाल काठमाडौं तार्केश्वर नगरपालिका ५ बस्ने ५३ वर्षीय दिनेश अधिकारी पक्राउ परेका छन् ।
अधिकारीले युके पठाइदिन्छु भन्दै एक जना पीडितसँग ३२ लाख ५७ हजार रुपैयाँ लिएको तर पछि सम्पर्कविहीन भएको उजुरी परेपछि प्रहरीले उनलाई पक्राउ गरेको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई काठमाडौं महानगरपालिका २६ बाट पक्राउ गरेको जनाएको छ ।
प्रहरीका अनुसार उनलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको छ । प्रहरीले यस बारे थप अनुसन्धान गरिरहेको जनाएको छ ।




