भक्तपुर । वैदेशिक रोजगारीको प्रलोभन देखाई क्यानाडा, अजरबैजान र मोरिसस पठाइदिन्छु भन्दै ठगी गर्ने दुई जनालाई भक्तपुर प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका ७ निवासी तथा हाल भक्तपुर चाँगुनारायण नगरपालिका २, दुवाकोट बस्ने ४१ वर्षीय गणेश बहादुर थापा र काभ्रेपलाञ्चोक नमोबुद्ध नगरपालिका ४, काफ्लेचोक निवासी तथा हाल काभ्रेपलाञ्चोक बनेपा नगरपालिका ६, बनेपा बस्ने ३९ वर्षीय दिनेश प्रसाद अधिकारी रहेका छन् ।
उनीहरूले वैदेशिक रोजगारीको लागि १४ जना पीडितहरूबाट ७१ लाख ७० हजार रुपैयाँ ठगी गरी सम्पर्कविहीन भएको उजुरीको आधारमा भक्तपुर जिल्ला प्रहरी परिसरबाट खटिएको प्रहरी टोलीले भक्तपुरका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, उनीहरू उपर मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को ठगी सम्बन्धी कसूरको दफा १४(६) बमोजिम जिल्ला अदालत भक्तपुरबाट ५ दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान गरिरहेको छ ।




