काठमाडौं । सशस्त्र प्रहरी बल नेपालको एफपियु मिसनमा पठाइदिन्छु भन्दै रकम ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका २ बतासे घर भई भक्तपुर चाँगुनारायण नगरपालिका २ दुवाकोट बस्ने २७ वर्षीय दिनेश सापकोटालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
सापकोटाले सशस्त्र प्रहरी बल नेपालका ७ जना कर्मचारीहरूलाई एफपियु मिसनमा पठाइदिने आश्वासन दिई रकम ठगी गरेको भन्ने सूचना प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई काठमाडौं दक्षिणकाली नगरपालिका ५ फर्पिङबाट पक्राउ गरेको हो ।
हाल उनलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




