काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले राष्ट्रको रक्षा, राष्ट्रिय एकताको सुदृढीकरण, तथा देशको समृद्धि र उन्नतिका लागि सबै देशवासीलाई साथ दिन आह्वान गरेका छन् । प्रजातन्त्र दिवसको पूर्वसन्ध्यामा जारी एक भिडियो सन्देशमा उनले राष्ट्रको हितका लागि अनुशासन र इमानदार प्रयत्न आवश्यक रहेको बताएका छन् ।
शाहले भने, “हामीले पहिले पनि राष्ट्रिय समस्या समाधान होस् भनेर त्याग गरेका हौं । अब नेपालको उन्नतिको लागि हामीबाट अरू के के त्याग गर्नु पर्ने हो, हामी तयार छौं । अब समय आयो, राष्ट्र जोगाउने हो भने, राष्ट्रिय एकता कायम राख्ने हो भने, देशको समृद्धि र उन्नतिका निम्ति हामीलाई साथ दिन सबै देशवासीलाई आह्वान गर्दछौं ।”
पूर्वराजाले आफ्नो विगतको त्यागलाई कमजोरी नठान्न चुनौतीसमेत दिएका छन् । उनले भने, “हामीले जनताको भलो होस् भनेर आफ्नो ओहदा र सुख सुविधा त्याग गरेका हौं । त्यागले कसैको कद सानो हुने होइन, र त्यस्तो भावलाई कसैले कमजोरी ठान्नु हुँदैन ।”
साथै, शाहले इतिहास मेटाउने तथा नेपाली पहिचानको अपमान गर्ने कार्यले राष्ट्र उभो नलाग्ने उल्लेख गर्दै भने, “विगतका कमी कमजोरी तथा आफ्नो प्रकृति र संस्कृति विरुद्धका त्रुटी सच्याएर अघि बढ्ने चेतना हामीलाई प्राप्त होस् ।” उनले देशको वर्तमान समस्या अहिलेको राजनीतिक नेतृत्वकै कारण उत्पन्न भएको आरोप पनि लगाएका छन् ।




