काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी माल्टा र अल्बानिया पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा लमजुङ बेशीशहर नगरपालिका ७ घर भई काठमाडौं टोखा नगरपालिका ८ बस्ने २३ वर्षीय सरोज थापा र काठमाडौं बुढानिलकण्ठ नगरपालिका १२ बस्ने ४६ वर्षीया कल्पना रावत रहेका छन् ।
सरोजले माल्टा पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ६४ हजार रूपैयाँ र कल्पनाले अल्बानिया पठाइदिन्छु भन्दै ३ जना पीडितहरूबाट ७ लाख ८२ हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले सरोजलाई काठमाडौं महानगरपालिका २६ बाट सोमबार र कल्पनालाई ललितपुर महानगरपालिका १५ बाट आइतबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको छ ।




