काठमाडौं । आज महाशिवरात्रि पर्व देशभरका शिवालयहरूमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ । वैदिक सनातन हिन्दू धर्मावलम्बीहरू बिहानैदेखि नदी, कुण्ड र तलाउमा स्नान गरी शिवालयहरूमा पुगी श्रद्धाभक्तिपूर्वक पूजाआराधना गरिरहेका छन् ।
विशेष गरी काठमाडौंको पशुपतिनाथ मन्दिर, ललितपुरको कुम्भेश्वर, भक्तपुरको डोलेश्वर लगायतका शिव मन्दिरहरूमा भक्तजनहरूको घुइँचो लागेको छ । पशुपति क्षेत्र विकास कोषका अनुसार २ सेकेण्डमा १० जना भक्तजनले पशुपतिनाथ मन्दिरको दर्शन गर्न सक्ने व्यवस्था मिलाइएको छ ।
महाशिवरात्रिको अवसरमा भक्तजनहरूले व्रत बसी भगवान् शिवलाई दूध, धतुरो, बेलपत्र लगायतका प्रिय वस्तुहरू चढाएर पूजा गर्ने गर्छन् । साथै, भगवान् शिवलाई जाडो नहोस् भन्ने धार्मिक विश्वास अनुसार घर, चोक र मठ–मन्दिरमा दाउरा संकलन गरी धुनी जगाई भजन–कीर्तनसहित प्रसाद तयार पार्ने परम्परा रहँदै आएको छ ।
यसै अवसरमा आज नेपाली सेना दिवस समेत परेको छ । नेपाली सेनाले टुँडिखेलमा विशेष समारोह आयोजना गर्दैछ, जसमा राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीको समेत सहभागिता रहनेछ ।




