काठमाडौं । वैदेशिक रोजगारीको आकर्षक तलबको प्रलोभन देखाई अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा रुकुम पश्चिम मुसिकोट नगरपालिका १ घर भई ललितपुर महालक्ष्मी नगरपालिका ४ बस्ने २४ वर्षीय मनिषराज खड्का, मुसिकोट नगरपालिका २ घर भई काठमाडौं टोखा नगरपालिका ३ बस्ने २७ वर्षीय मधु कुमार खड्का र ३४ वर्षीय बिरेन्द्र खड्का रहेका छन् ।
उनीहरूले अमेरिका पठाइदिने भन्दै दुई जना पीडितहरूबाट १ करोड ४४ लाख ५० हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए । पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले मनिषराजलाई काठमाडौं महानगरपालिका ९ बाट तथा मधु कुमार र बिरेन्द्रलाई टोखा नगरपालिका ८ बाट पक्राउ गरेको हो ।
हाल उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




