काठमाडौं । आकर्षक तलबको प्रलोभनमा पारेर पोल्याण्ड पठाइदिने बहानामा लाखौं रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा मोरङ उर्लाबारी नगरपालिका ५ पथरी घर भई हाल ललितपुर महानगरपालिका २७ सुनाकोठी बस्ने ४६ वर्षीया भूमिका देवान र बाँके डुडुवा गाउँपालिका ५ कमदी घर भई हाल काठमाडौं महानगरपालिका १४ बस्ने ५२ वर्षीय पशुपति खत्री रहेका छन् ।
भूमिकाले पोल्याण्ड पठाइदिने भन्दै ३ जना पीडितबाट ११ लाख रुपैयाँ ठगी गरेको आरोप छ भने पशुपतिले १ जना पीडितबाट २ लाख २३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएका थिए ।
पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले भूमिकालाई आइतबार ललितपुर सुनाकोठीबाट र पशुपतिलाई शनिबार काठमाडौं सतुंगलबाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।




