काठमाडौं । नक्कली फेसबुक आईडी खोली आर्थिक ठगी गर्ने कार्यमा संलग्न एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । धादिङको ज्वालामूखी गाउँपालिका ७ घर भई काठमाडौं तार्केश्वर नगरपालिका ५ लोलाङ हाईट बस्ने २७ वर्षीय नारायणदत्त खकुराललाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले वैदेशिक रोजगारीमा रहेका व्यक्तिहरूको नाममा नक्कली फेसबुक आईडी बनाई उनीहरूका आफन्तहरूलाई आफू वा साथी बिरामी परेको भन्दै आर्थिक सहायता माग्ने गर्थे । साथै, उपचारका लागि रकम पठाउन भन्दै उपत्यकाका विभिन्न पसलहरूको क्युआर कोड प्रयोग गरी रकम हात पार्ने गरेको अनुसन्धानबाट खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको टोलीले उनलाई लोलाङ हाईटबाट पक्राउ गरेको हो । पक्राउ परेका खकुराललाई आवश्यक अनुसन्धान तथा कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।




