काठमाडौं । राजस्व छली गर्दै चोरी पैठारी गरेर चाँदीको अवैध कारोबारमा संलग्न पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ३२ बस्ने तथा बारा कलैया उपमहानगरपालिका ८ घर भएका ३४ वर्षीय सन्तोष कुमार साह, ३५ वर्षीय प्रेम कुमार कुशवाहा, २६ वर्षीय गणेश साह, पर्सा वीरगंज महानगरपालिका १६ नगुवा घर भएका ३२ वर्षीय दिनानाथ कुमार साह र बारा जीतपुरसिमरा उपमहानगरपालिका १६ घर भएकी २१ वर्षीया बिपना सार्की रहेका छन् ।
काठमाडौं महानगरपालिका ३२ नरेफाँट क्षेत्रमा उनीहरूले राजस्व छली गर्दै चोरी पैठारी गरिरहेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई २० किलोग्राम चाँदीसहित पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूलाई आवश्यक अनुसन्धान तथा कानूनी कारवाहीका लागि राजस्व अनुसन्धान विभाग, हरिहर भवन ललितपुर पठाइएको प्रहरीले जनाएको छ ।




