काठमाडौं । वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी अमेरिका र क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जनालाई आइतबार प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा संखुवासभा मकालु गाउँपालिका २ घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका ८ हात्तीगौंडा बस्ने २१ वर्षीय सालिकराम बानिया र मकवानपुर इन्द्रसरोवर गाउँपालिका ३ घर भई काठमाडौं कीर्तिपुर नगरपालिका १४ चौभार बस्ने ३१ वर्षीया एलिना पुरी रहेका छन् ।
सालिकरामले अमेरिका पठाइदिन्छु भन्दै १ जना पीडितबाट ५ लाख रूपैयाँ र एलिनाले क्यानडा पठाइदिन्छु भन्दै १ जना पीडितबाट १ लाख ५० हजार रूपैयाँ लिई सम्पर्कबिहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उनीहरुलाई पक्राउ गरिएको हो ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले उनीहरूलाई काठमाडौं टेकुबाट पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारवाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचाल काठमाडौं पठाइएको छ ।




