मकवानपुर राज्य मध्यकालीन नेपाल एकीकरणको पूर्व एक स्वतन्त्र र प्रख्यात राज्य थियो । इतिहासका पाना पल्टाएर हेर्ने हो भने कुनै समय मकवानपुर एक स्वतन्त्र राज्य थियो, र यसको राजधानी मकवानपुरगढी थियो । यो स्थान ऐतिहासिक, पुरातात्त्विक, धार्मिक र पर्यटकीय दृष्टिले अत्यन्त महत्त्वपूर्ण मानिन्छ । नेपालका लागि यो गढी रणनीतिक दृष्टिले एक महत्वपूर्ण स्थानको रूपमा चिनिन्छ ।
यात्रा सधैं गतिशील र रोमाञ्चक हुन्छ, र यो शब्दले आफैंमा नयाँ स्थान र परिवेशमा रहनको लागि एउटा उत्तेजना र कुतुहलताको आभास गराउँछ । यात्रा गर्नु भनेको नयाँ ठाउँको अन्वेषण गर्नु हो, र यसका क्रममा देखिएका अनुभव गरिएका र भोगिएका घटनाहरूलाई क्रमबद्ध र कलात्मक शैलीमा प्रस्तुत गर्नु भनेको यात्रा साहित्य हो । यथार्थ र कल्पनाको मिश्रण, लेखकीय इमानदारी र सूक्ष्म अवलोकन नै एउटा राम्रो यात्रा लेखको आधार हुन्छ ।
हामी गैंडाकोट नगरपालिका वार्ड नं. १ स्थित श्री सरस्वती निकेतन आवासीय माध्यमिक विद्यालयबाट २०८१ साल मङ्सिर ६ गते बिहीबारको दिन कक्षा ६, ७ र ८ का विद्यार्थीहरूसहित मकवानपुरगढीको ऐतिहासिक भ्रमणका लागि प्रस्थान गर्यौं । यो भ्रमणमा ६८ जना विद्यार्थी र चार जना शिक्षकहरू सहभागी भए, जसमा प्राचार्य भरतबाबु कंडेल, शिक्षक सुरज भण्डारी, सन्देश विष्ट र म लेखक स्वयम्, भूमिका गैरे तिमिल्सिना, उपस्थित थिए ।
हामी बिहान ६:०० बजे विद्यालय प्राङ्गणमा जम्मा भई, ७:०० बजे खैरहनीमा खाजा खाएर हेटौंडा रङ्गशाला, माछा पोखरी र चुच्चेखोला हुँदै मकवानपुरगढीको शिखर कटेरी पार गर्यौं । लगभग २०/२५ मिनेटको उकालो हिँडेपछि हामी ऐतिहासिक र पुरातात्त्विक महत्वको स्थान मकवानपुरगढी-२ पुग्यौं ।
मकवानपुरगढीको इतिहासमा, ११ औं शताब्दीको आसपास, नेपाल प्रवेश गरेका तुला सेनका बादशाह मुकुन्द सेनले मकवानपुरलाई आफ्नो राजधानी बनाएर राज्य विस्तार गरे । यस राज्यको मध्यभागमा स्थित मकवानपुर, जो पहिले मुकुन्दपुर भनिन्थ्यो, पछि मकवानपुरको नामबाट चिनिन थाल्यो । १३ औं शताब्दीमा सेनवंशीय राजाहरूले मकवानपुरगढीलाई आफ्नो मुख्य गढीको रूपमा प्रयोग गरे ।
यस गढीको इतिहास र संरचना, राजतन्त्रको उत्थान र पतनसँग जोडिएको छ । पृथ्वीनारायण शाहले १८१९ सालमा मकवानपुरगढीमा विजय प्राप्त गरेपछि नेपालका विभिन्न भाग एकीकरण गर्न प्रारम्भ गरे । मकवानपुरगढी दरबार १६ किलोमिटर पूर्व हेटौंडामा समुन्द्रिक सतहबाट १०१७ मिटरको उचाइमा स्थित छ, र यसको महत्त्वपूर्ण भूमिका, विशेष गरेर नेपाल एकीकरण र विदेशी सेनाहरूसँगको लडाइँमा महत्त्वपूर्ण रहेको पाइन्छ ।
मकवानपुर गढीको संरचना तीन भागमा बाँडिएको छ: ठूलो गढी, सानो गढी र ढुङ्गेगढी । गढीको ऐतिहासिक महत्त्वलाई विचार गर्दा, यसको प्रभाव नेपाली इतिहासमा ठूलो रहेको छ । सेनवंशीय शासकहरूले ३०० वर्षसम्म मकवानपुर गढीमा शासन गरेका थिए ।
यस यात्रा अवधिमा हामीले ऐतिहासिक, पौराणिक र धार्मिक स्थलहरू अवलोकन गर्यौं । हेटौंडाको भूटनदेवी मन्दिर, महाभारतकालीन पाण्डवहरूको इतिहास र अन्य स्थानहरूमा शैक्षिक अवलोकन गर्दा विद्यार्थिहरूले गहिरो ज्ञान प्राप्त गरे ।
यस १ दिने शैक्षिक भ्रमणले विद्यार्थिहरूलाई इतिहास, संस्कृति र पर्यावरणको प्रत्यक्ष अनुभव दिन महत्वपूर्ण भूमिका निभायो । ऐतिहासिक, धार्मिक र पुरातात्त्विक स्थलहरूको अवलोकन गर्दा हामीले केवल किताबी ज्ञान मात्र नभएर व्यवहारिक ज्ञान पनि प्राप्त गर्यौं ।
यस यात्रा मार्फत विद्यार्थीहरूलाई स्थलगत अध्ययन र प्रत्यक्ष देखाइएर महत्त्वपूर्ण शिक्षाहरू सन्देश दिइएको छ, जसले तिनीहरूको शैक्षिक यात्रा र जीवनमा सन्देश र ज्ञान थप्नमा मद्दत पुर्यायो ।




