काठमाडौं । घुस तथा रिश्वत सम्बन्धी एक मुद्दामा विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको छ । वादी नेपाल सरकार तथा प्रतिवादी धनेश्वर प्रसाईसमेत भएको भ्रष्टाचार मुद्दामा सरकारी साक्षी भोजराज भट्टराईले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत अदालतमा बकपत्र गरेको पुष्टि भएको छ ।
विशेष अदालतमा दर्ता भएको ०८१-CR-००५४ मुद्दामा सरकारी साक्षीका रूपमा उपस्थित भट्टराईले अनुसन्धान अधिकृत समक्ष दिएको बयान विपरीत बकपत्र गरी प्रतिवादी धनेश्वर प्रसाईलाई तीन लाख रुपैयाँ घुस दिएको प्रमाणित भएको छ ।
भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ३ को उपदफा (३) बमोजिमको कसुर ठहरिएकाले भट्टराईलाई तीन लाख रुपैयाँ बिगो कायम गरी सोही ऐनअनुसार कैद सजाय तथा जरिवाना हुनुपर्ने मागसहित आज विशेष अदालत, काठमाडौंमा आरोपपत्र दायर गरिएको प्रवक्ता राजेन्द्र कुमार पौडेलले जानकारी दिएका छन् । यस प्रकरणमा विशेष अदालतले आगामी सुनुवाइका लागि प्रक्रिया अघि बढाउनेछ ।




