सिरहा । सामाजिक सञ्जालको दुरुपयोग गरेको आरोपमा प्रहरीले सिरहाका एक युवकलाई पक्राउ गरेको छ । प्रहरीको साइबर ब्युरोबाट खटिएको प्रहरी टोलीले सिरहा, धनगढीमाई नगरपालिका ७ गोलबजार स्थायी घर भई हाल काठमाडौंको सिनामंगलमा डेरा गरी बस्ने २७ वर्षीय राम बिहारी साफीलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार, साफीले प्रेम सम्बन्ध बिग्रिएपछि आफ्नो पूर्व प्रेमिकाको अन्तरङ्ग तस्बिर तथा भिडियो सामाजिक सञ्जालमा पोस्ट गरेको, पीडितका आफन्तलाई धम्क्याएको तथा मानसिक तनाव दिएको उजुरीका आधारमा पक्राउ गरिएको हो ।
साफीविरुद्ध विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गतको कसुरमा मुद्दा दर्ता गरिएको छ । पक्राउ परेका उनलाई जिल्ला अदालत काठमाडौंको आदेशअनुसार चार दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।




