काठमाडौं । वैदेशिक रोजगारीको प्रलोभन देखाई पोल्याण्ड पठाइदिने भन्दै नगद रकम ठगी गर्ने तीन जना व्यक्तिहरूलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा टोखा नगरपालिका १ घर भई बुढानिलकण्ठ नगरपालिका ६ बस्ने ३९ वर्षीय राजु बिक्रम राणा, ३५ वर्षीया रोशनी राणा र टोखा नगरपालिका ९ बस्ने कञ्चनपुर बेदकोट नगरपालिका १० घर भएका ३३ वर्षीय भिम बहादुर महर रहेका छन् ।
राजु र रोशनीले एक जना पीडितबाट पोल्याण्ड पठाइदिने भन्दै ४ लाख १२ हजार रुपैयाँ ठगी गरेको र भिम बहादुरले दुई जना पीडितहरूबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीले राजु र रोशनीलाई काठमाडौं महानगरपालिका ६ बौद्ध क्षेत्रबाट तथा भिम बहादुरलाई काठमाडौं महानगरपालिका २६ क्षेत्रबाट पक्राउ गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा बुझाइएको छ ।




