काठमाडौं । नेपाल सरकार, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको आयोजनामा कुष्ठरोग उन्मूलन तथा कुष्ठ प्रभावित व्यक्तिमाथि हुने भेदभाव अन्त्यका लागि राष्ट्रिय सम्मेलन बिहीबारदेखि काठमाडौंमा सुरु भएको छ । सम्मेलनको उद्घाटन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले कुष्ठरोग उन्मूलन तथा भेदभाव अन्त्यका लागि सरकारले आफ्नो भूमिकामा कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनाए ।
प्रधानमन्त्री ओलीले सरकार प्रारम्भदेखि नै कुष्ठरोग उन्मूलनका लागि विशेष कार्यक्रम सञ्चालन गर्दै आएको उल्लेख गर्दै नागरिक तहमा पनि समान रूपमा पहल आवश्यक रहेको बताए । उनले कुष्ठरोग पूर्णरूपमा निर्मूल गर्ने सरकारको दृढ संकल्प रहेको स्पष्ट पारे ।
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले सन् २०३० सम्ममा नेपाललाई कुष्ठरोगमुक्त देश बनाउने लक्ष्यसहित मन्त्रालयले कुनै कसर बाँकी नराख्ने प्रतिबद्धता दोहोर्याए । मन्त्रालयका सचिव डा. विकास देवकोटाले हालको अवस्थामा कुष्ठरोगको अवस्थाबारे प्रष्ट पार्दै चुनौती, रणनीति र भावी योजनाका बारेमा जानकारी दिए ।
सम्मेलनमा उच्चस्तरीय राजनीतिक प्रतिबद्धता आवश्यक रहेको भन्दै प्रभावित समुदायको समावेशीकरण, अधिकार सुनिश्चितता र भेदभाव अन्त्यका लागि संयुक्त रूपमा प्रयास गरिने भनिएको छ ।
सासाकावा लेप्रोसी इनिसिएटिभ, नेपाल कानुन समाज, विश्व स्वास्थ्य संगठन नेपाल, कुष्ठरोग मिशन नेपाल लगायतका संस्थाको सहकार्यमा आयोजित सम्मेलनमा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरका करिब ३०० सहभागीको उपस्थिति रहेको छ । सम्मेलनमा विषयगत छलफल, प्रदेश तथा स्थानीय तहको भूमिका, सफल अभ्यास र नीति निर्माणमा केन्द्रित सत्रहरू सञ्चालन हुनेछन् ।
के हो कुष्ठरोग ?
कुष्ठरोग एक किसिमको छालासम्बन्धी रोग हो जसमा सुरुवातमा छालामा दाग देखिने र त्यसले वरिपरि अंगलाई नष्ट गर्न सक्ने सम्भावना रहन्छ । समयमै उपचार नभए अपाङ्गता हुन सक्ने यो रोग सजिलै निको हुने भए पनि सामाजिक भेदभावको कारण पीडितहरू अपमान सहन बाध्य छन् ।
नेपालमा वार्षिक करिब २८६७ नयाँ कुष्ठरोगका बिरामी दर्ता हुने गरेका छन्। हाल नेपालमा करिब २ लाख कुष्ठरोग प्रभावितमध्ये करिब ३० हजार अपाङ्गताको अवस्थामा रहेका छन् । नेपालले सन् २०३० भित्र कुष्ठरोग उन्मूलन गर्ने विश्वव्यापी प्रतिबद्धता जनाइसकेको छ ।
तर, देशका १८ जिल्लामा अझै प्रतिदश हजार जनसंख्यामा एक जनाभन्दा बढी कुष्ठरोग प्रभावित रहेका छन्, जसमा मधेश प्रदेशका सात जिल्ला प्रमुख रूपमा प्रभावित छन् । नेपाल सरकारले विश्व स्वास्थ्य संगठनको सहयोगमा कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि वितरण गर्दै आएको छ ।




