काठमाडौं । वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाई रकम ठगी गरेको अभियोगमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका ४ का ३४ वर्षीय सुदिप मान सिंह बस्नेत र भक्तपुर सूर्यविनायक नगरपालिका ८ बसोबास गर्दै आएका काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका ९ निवासी गुमान सिंह तामाङ रहेका छन् ।
प्रहरीका अनुसार सुदिप बस्नेतले एक पीडितलाई क्यानडा पठाइदिन्छु भन्दै ६ लाख रुपैयाँ ठगी गरेका थिए भने गुमान सिंह तामाङले अर्को पीडितलाई क्रोएसिया पठाइदिन्छु भन्दै १ लाख ७५ हजार रुपैयाँ लिएका थिए । रकम लिएपछि दुवै अभियुक्त फरार भएका थिए ।
पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले सुदिपलाई ललितपुर महानगरपालिका २५ भैंसेपाटीबाट शुक्रबार र गुमानलाई काठमाडौं महानगरपालिका ५ बाट बिहीबार पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।




