काठमाडौं । वैदेशिक रोजगारीका लागि पोल्याण्ड पठाइदिने भन्दै रकम ठगी गर्ने दीपा कुमारी पोख्रेललाई प्रहरीले पक्राउ गरेको छ । महिला गोकर्णेश्वर नगरपालिका ५ बसोबास गर्दै आएकी र स्थायी ठेगाना महोत्तरीको बर्दिबास नगरपालिका ५ रहेको प्रहरीले जनाएको छ ।
उनले एक व्यक्तिलाई पोल्याण्ड पठाइदिन्छु भन्दै २ लाख रुपैयाँ असुल गरेकी थिइन् । रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले उजुरी दिएका थिए ।
उक्त उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई गोकर्णेश्वरबाट शनिबार पक्राउ गरेको हो ।
दीपालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौंमा पठाइएको छ । प्रहरीका अनुसार वैदेशिक रोजगारीका नाममा हुने ठगी रोक्न विशेष निगरानी र सतर्कता अपनाइएको छ ।




