काठमाडौं । लोकसेवा आयोगले खरिदार पदको परीक्षामा सहभागी एक उमेदवारले उत्तरपुस्तिका आफैंसँग बोकेर लगेपछि उनकी परीक्षा रद्द गरेको छ ।
आयोगका अनुसार, जाजरकोट छेडाडाड ३ निवासी संगिता थापाले गत वैशाख २० गते आयोजित प्रथम चरणको लिखित परीक्षामा सहभागी भएर उत्तरपुस्तिका बुझाउनुको सट्टा आफैंसँग लगेकी थिइन् ।
उक्त परीक्षा रामनन्दन विशेश्वर क्याम्पस (ख), जलेश्वर परीक्षा केन्द्रमा सञ्चालन भएको थियो । संगिता थापाले लोकसेवा आयोगको जलेश्वर शाखा कार्यालयबाट परीक्षा दिएकी थिइन् ।
परीक्षामा उत्तरपुस्तिका तोकिएको समयमै बुझाउनु पर्ने आयोगको नियम विपरीत थापाले उत्तरपुस्तिका आफैंसँग लैजाँदा परीक्षा प्रक्रिया नै भंग भएको ठहर गर्दै आयोगले उनको परीक्षा पूर्णरूपमा रद्द गरिएको सूचना जारी गरेको हो ।
लोकसेवा आयोगले परीक्षा प्रक्रियाको शुद्धता र पारदर्शिता कायम राख्न यस्ता कार्यमा शून्य सहनशीलता अपनाउने जनाएको छ ।




