ललितपुर । ललितपुरमा यही आउँदो शनिबार जेठ ३ गते राष्ट्रव्यापी स्तरको बक्सिङ च्याम्पियन सीप प्रतियोगिता आयोजना हुने भएको छ । ललितपुर महानगरपालिका २२ स्थित लुमु विसुन्डोल गणेश मन्दिर परिसरमा अपराह्न ३ बजेबाट प्रतियोगिता सुरु हुने आयोजकले जनाएका छन् ।
म्याक्स बक्सिङ प्रमोशन र ललितपुर बक्सिङ एकेडेमीको संयुक्त आयोजना तथा स्थानीय निकाय र संघ संस्थाको सहकार्यमा आयोजना हुने प्रतियोगितामा स्कुल बक्सिङ, सेमी प्रो र प्रोफेशनल बक्सिङका गरी कुल १२ वटा बाउटहरू हुनेछन् ।
म्याक्स बक्सिङ प्रमोशनका सञ्चालक म्याक्स बस्नेतका अनुसार प्रतियोगितामा देशभरका प्रतिस्पर्धीहरूको सहभागिता रहनेछ । नेपाल प्रो बक्सिङको मापदण्ड अनुसार प्रतियोगिता सञ्चालन हुनेछ । साथै, उत्कृष्ट प्रदर्शन गर्ने खेलाडीलाई अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी हुने अवसर प्रदान गरिनेछ ।
प्रतियोगिताका विजयी खेलाडीहरूलाई पदक तथा नगद पुरस्कार प्रदान गरिनेछ । खेलकुद क्षेत्रको समग्र विकासमा स्थानीय स्तरबाट सक्रीय भूमिका खेल्दै अन्तर्राष्ट्रिय प्रतिस्पर्धाका लागि आधार तयार गर्न प्रतियोगिताले सहयोग पुर्याउने अपेक्षा गरिएको छ ।






