काठमाडौं । आकर्षक तलब र वैदेशिक रोजगारीको प्रलोभन देखाउँदै ठगी गर्ने गिरोहका तीन सदस्यलाई प्रहरीले बिहीबार पक्राउ गरेको छ । उनीहरुले ठगी गरेपछि प्रहरीले पक्राउ गरेको हो ।
पक्राउ परेका व्यक्तिहरूमा भक्तपुर सूर्यविनायक नगरपालिका ३ बस्ने इलाम सूर्योदय नगरपालिका ७ घर भएका ६५ वर्षीय टंकनाथ कटुवाल, काठमाडौं गोकर्णेश्वर नगरपालिका ८ बस्ने तनहुँ भीमाद नगरपालिका ४ घर भएका २७ वर्षीय शेरबहादुर कुमाल र काठमाडौं टोखा नगरपालिका ५ बस्ने मकवानपुर थाहा नगरपालिका ३ घर भएका ३१ वर्षीय अशिम नगरकोटी रहेका छन् ।
प्रहरीका अनुसार टंकनाथ कटुवालले यूएई पठाइदिन्छु भन्दै एक जना पीडितबाट १ लाख रुपैयाँ, शेरबहादुर कुमालले अजरबैजान पठाइदिन्छु भन्दै अर्को एक पीडितबाट ४ लाख ५० हजार रुपैयाँ र अशिम नगरकोटीले डेनमार्क पठाइदिन्छु भन्दै तेस्रो पीडितबाट ५ लाख रुपैयाँ लिएका थिए । रकम लिएको केही समयपछि ती तीनै जना सम्पर्कविहीन बनेका थिए ।
पीडितहरूबाट उजुरी प्राप्त भएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले टंकनाथलाई भक्तपुर, शेरबहादुरलाई गोकर्णेश्वर र अशिमलाई टोखाबाट पक्राउ गरेको हो ।
पक्राउ परेकाहरूमाथि आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।
प्रहरीले वैदेशिक रोजगारीको नाममा हुने ठगीविरुद्ध सतर्क रहन आम नागरिकलाई अनुरोध गर्दै कुनै पनि व्यक्तिसँग रकम बुझाउँदा प्रमाणसहित प्रक्रिया अपनाउन आग्रह गरेको छ ।




