काठमाडौं । विदेशमा आकर्षक तलबको प्रलोभन देखाएर अल्बानिया पठाइदिने भन्दै रकम ठगी गरेको आरोपमा दुई महिलालाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका ७ बस्ने र उदयपुरको त्रियुगा नगरपालिका ९ स्थायी घर भएकी ३५ वर्षीया बिमला दनुवार र काठमाडौंको नागार्जुन नगरपालिका १ बस्ने तथा कास्की पोखरा महानगरपालिका २६ घर भएकी ४८ वर्षीया राम कुमारी रोक्का मगर छन् ।
प्रहरीका अनुसार बिमला दनुवारले ४ जना पीडितबाट ८ लाख रुपैयाँ र राम कुमारी रोक्काले २ जना पीडितबाट २ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् ।
पीडितहरूले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरी टोलीले बिमलालाई काठमाडौं महानगरपालिका ७ बाट र राम कुमारीलाई नागार्जुन नगरपालिका १ बाट पक्राउ गरेको हो ।
पक्राउ परेका दुवै जनालाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि वैदेशिक रोजगार विभाग ताहाचलमा पठाइएको प्रहरीले जनाएको छ ।




