काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दैलेख डुङ्गेश्वर गाउँपालिका कार्यपालिकामा कार्यरत वरिष्ठ लेखा अधिकृत टंकबहादुर कार्कीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । विशेष अदालत काठमाडौंमा आज कार्कीविरुद्ध आरोप पत्र दायर गरिएको हो ।
आयोगका अनुसार, डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण कार्य सम्पन्न भएपछि अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुस लिएको पुष्टि भएपछि कार्कीविरुद्ध कारबाही अघि बढाइएको हो ।
आयोगका प्रवक्ता राजेन्द्र कुमार पौडेलले अनुसार, “वरिष्ठ लेखा अधिकृत कार्कीले सडक निर्माण सम्पन्न भएपछि बिल भुक्तानी गर्दा सेवाग्राहीसँग घुस बापत १ लाख रुपैयाँ माग गरेको उजुरी परेको थियो । उजुरीको आधारमा अनुसन्धान गर्दा घुस लिएको पुष्टि भयो ।”
आरोप पत्र अनुसार कार्कीले डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १, २, ३, ४ र ५ मा पर्ने जर्सीचोक–देउली सडक स्तरोन्नती योजनाको अन्तिम बिल भुक्तानी प्रक्रियामा सहजीकरण गर्ने बहाना बनाउँदै सेवाग्राहीसँग १ लाख रुपैयाँ घुस लिएको पुष्टि भएको छ । केही समयअघि आयोगको टोलिले कार्कीलाई सेवाग्राहीसँग घुस लिएको अवस्थामा नियन्त्रणमा लिएको थियो ।




