काठमाडौं । गृह मन्त्रालयले भिजिट भिसामा विदेश यात्रा गर्न लागू गरेको कडा ६ बुँदे मापदण्ड खारेज गर्दै नयाँ खुकुलो व्यवस्था लागू गरेको छ । अब विदेश भ्रमणका लागि ६ महिनाभन्दा लामो अवधि भएको राहदानी, गन्तव्य मुलुकको वैध भिसा, दुई तर्फी हवाई टिकट र स्वेच्छाले यात्रा गर्ने स्वघोषणा पर्याप्त हुनेछ ।
अध्यागमन विभागको सिफारिसमा गृहमन्त्री ओमप्रकाश अर्यालले बिहीबारदेखि नयाँ मापदण्ड लागू गरेका हुन् । पहिलेको ६ बुँदे मापदण्डमा होटेल बुकिङ, आफन्तसँग बस्ने भए तीन पुस्ते विवरण, ५०० डलर अनिवार्य साथमा राख्ने लगायत कडा प्रावधान थिए । यी प्रावधानका कारण विदेशी यात्रा गर्न चाहनेहरूले बिचौलिया प्रयोग गर्नुपर्ने अवस्था सिर्जना भएको थियो ।
नयाँ नियमले भिजिट भिसामा विदेश जान चाहनेलाई सहजता प्रदान गर्ने मात्र नभई दलाल तथा बिचौलियाद्वारा हुने आर्थिक शोषणलाई समेत रोक्ने उद्देश्य राखिएको अधिकारीहरूले बताएका छन् ।
तत्कालीन गृहमन्त्री बालकृष्ण खाँणले २०७८ सालमा १७ बुँदे कडा मापदण्ड जारी गरेका थिए । त्यसमा करयोग्य आम्दानी, बैंक मौज्दात, अध्ययन, अंग्रेजी ज्ञान, विदेश भ्रमण अनुभव जस्ता प्रावधान पनि समावेश थिए । पछि गृहमन्त्री नारायणकाजी श्रेष्ठको पालामा ती मापदण्ड संशोधन भई ६ बुँदे बनाइएको थियो ।
हाल लागू भएको नयाँ नियमले यी दुवै मापदण्डका विभेदकारी र जटिल प्रावधान हटाएर ४ बुँदे सरल मापदण्ड लागू गरेको छ । यसले भिजिट भिसामा भ्रमण गर्नेहरूलाई सहजता दिने र भिसा प्रक्रियामा हुने ठगी तथा तस्करी नियन्त्रणमा मद्दत गर्ने अधिकारीहरूले बताएका छन् ।




