काठमाडौं । सिम्रिक एयरको हेलिकप्टरले नोभेम्बर ६, २०२५ मा यालुङरी क्षेत्रमा हिम पहिरोमा परेका आरोहीहरूको खोज तथा शव फिर्ता अभियान सञ्चालन गरेको छ । नोभेम्बर ३ मा भएको हिमपहिरोपछि तीन विदेशी आरोही र दुई नेपाली गाइड हराएको सूचना प्राप्त भएपछि सिम्रिक एयरले AviA MEA – International Rescue Team सँग समन्वय गरी सो मिशन सञ्चालन गरेको हो ।
झण्डै ५,५०० मिटरको उचाइमा सम्पन्न गरिएको यो अत्यन्त चुनौतीपूर्ण अभियान चरम मौसम र वातावरणीय कठिनाइबीच सम्पन्न गरिएको थियो । पाइलट–इन–कमाण्ड क्याप्टेन सुरेन्द्र पौडेल र उद्धार प्राविधिक छिरिङ पाण्डे भोटे तथा उत्तम चौधरी रहेको सिम्रिक एयरको हेलिकप्टरले RECCO उपकरण लगायतको खोज प्रविधि प्रयोग गरी अन्तर्राष्ट्रिय उद्धार टोलीलाई हवाई तथा प्राविधिक सहयोग प्रदान गरेको थियो ।
उक्त टोलीमा प्रसिद्ध उच्च हिमाली उद्धारक क्याप्टेन म्यानुअल मुनारी, मिशेल कुच्ची र ब्रुनो जेल्क रहेका थिए । यस अभियानमा चार जना IFMGA/NNMGA शेर्पा गाइडहरूले स्थलमै रहेर खोज तथा उद्धारमा महत्वपूर्ण भूमिका खेलेका थिए । नोभेम्बर ६, ७ र ८ मा गरिएको हवाई खोज अभियान नोभेम्बर ८ को अपराह्न औपचारिक रूपमा सम्पन्न गरिएको हो । यो अभियानलाई विज्ञहरूले सम्भवत: पहिलो पटक RECCO SAR उपकरण प्रयोग गरिएको उच्च हिमाली उद्धार अभियानका रूपमा वर्णन गरेका छन् ।
अभियानको आधार शिविर नाउँ गाउँमा स्थापना गरिएको थियो, जहाँबाट सम्पूर्ण लजिस्टिक, प्राविधिक तयारी र इन्धन आपूर्ति सञ्चालन गरिएको थियो । टोलीले काठमाडौं, इटाली र स्विट्जरल्यान्डस्थित सहायक सदस्यहरूसँग निरन्तर समन्वय गरी हावापानी, सूचना आदान–प्रदान तथा सञ्चालन अद्यावधिक गर्दै आएको थियो ।
हवाई र स्थल दुबैबाट RECCO SAR एरियल सिस्टम र RECCO R9 ग्राउन्ड सर्च सिस्टम प्रयोग गरी धेरै पटक पुन: खोज उडानहरू गरिएको थियो । शेर्पा गाइडहरूसँग घनिष्ठ सहकार्यमा टोलीले हिमपहिरोको क्षेत्र पहिचान गरी सञ्चालन क्षेत्र निर्धारण गरेको थियो । तर, अत्यधिक बाक्लो र कडा हिउँका कारण खोज तथा शव फिर्ता कार्य रोक्नुपर्ने अवस्था आएको थियो । हिमनदी मुनि रहेको गहिरो चिरा (क्राभास) का कारण थप कार्य अघि बढाउन असम्भव भएको जनाइएको छ ।
यो अभियान आरोही र गाइडका परिवार प्रति सहानुभूति र सम्मानका भावनासहित सम्पन्न गरिएको हो । सिम्रिक एयर (हवाई यातायात र खोज अभियान), हेलि एभरेस्ट (सहयोग लजिस्टिक र सामग्री ढुवानी), AviA MEA International Rescue Team र स्थानीय IFMGA/NNMGA शेर्पा गाइडहरूको संयुक्त प्रयासमा यो मिशन सम्पन्न भएको थियो ।
यस अभियानमा अर्थ सी-एयर (स्विट्जरल्यान्ड), RECCO AB (स्विडेन) र एसियन ट्रेकिङ (नेपाल) ले पनि सहयोग गरेका थिए । सिम्रिक एयरले विगत केही वर्षदेखि यस्ता उच्च हिमाली उद्धार तथा शव फिर्ता अभियानमा यी संस्थाहरूसँग सहकार्य गर्दै आएको छ ।




