काठमाडौं । वैदेशिक रोजगारीको नाममा रकम ठगी गरेको अभियोगमा २६ वर्षीया मनिषा अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ । मनिषा अधिकारी हाल कागेश्वरी मनोहरा नगरपालिका ६ बस्दै आएकी छिन् । उनको मूल घर हेटौंडा उपमहानगरपालिका ६ मकवानपुरमा रहेको छ ।
प्रहरीका अनुसार, मनिषाले क्यानडा पठाइदिन्छु भनी एक जना पीडितबाट ३ लाख रुपैयाँ लिई सम्पर्कविहीन भएकी थिइन् । पीडितले उजुरी दर्ता गरेपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको टोलीले उनलाई आइतबार कागेश्वरी मनोहरा नगरपालिका ६ बाट पक्राउ गरेको हो ।
अभियुक्तलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जानकारी दिएको छ । घटना बारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ ।




