काठमाडौं । थाइल्याण्डमा सम्पन्न द थर्ड हिरोज तेक्वान्दो च्याम्पियनसिप २०२६ मा नेपालका तर्फबाट सहभागी काभ्रेपलाञ्चोक जिल्लाको पनौती नगरपालिकाका २४ वर्षीय सुरज घिमिरेले पुम्से विधामा स्वर्ण पदक जित्न सफल भएका छन् ।
१८ वर्षभन्दा माथिको उमेर समूह अन्तर्गतको पुम्से प्रतिस्पर्धामा सहभागी घिमिरेले थाइल्याण्डका खेलाडीलाई पछि पार्दै स्वर्ण पदक हात पारेका हुन् । उक्त प्रतिस्पर्धामा थाइल्याण्डले रजत पदक प्राप्त गरेको छ भने फिलिपिन्स कास्य पदकमा सीमित भएको छ ।
यस प्रतियोगितामा नेपालले समग्रमा उत्कृष्ट प्रदर्शन गर्दै विभिन्न विधामा चार स्वर्ण पदक र एक कास्य पदक जित्न सफल भएको छ । नेपाली खेलाडीहरूको यस सफलताले अन्तर्राष्ट्रिय स्तरमा नेपालको तेक्वान्दो खेलको साख अझ मजबुत बनेको विश्लेषकहरू बताउँछन् ।






