सिराहा । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा सिराहा निर्वाचन क्षेत्र नं. ४ मा चुनावी माहोल चर्किएको छ । पाँच जना पूर्वमन्त्री बीचको प्रतिस्पर्धामा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवारले थप चुनौती प्रस्तुत गरेपछि यस क्षेत्रको चुनाव झनै रोचक बनेको छ ।
मिर्चैया र कर्जन्हा नगरपालिका तथा कल्याणपुर र विष्णुपुर गाउँपालिका समेटिएको सिराहा ४ विगतदेखि नै कम्युनिष्ट दलहरूको प्रभाव रहेको क्षेत्र मानिन्छ । २०७९ को निर्वाचनमा जनमत पार्टीका वीरेन्द्रप्रसाद महतोले जनता समाजवादी पार्टी जसपा नेपालका वीरेन्द्रप्रसाद साहलाई ७ हजार ८०८ मतले पराजित गर्दै विजयी भएका थिए ।
त्यतिबेला एमाले–जसपा गठबन्धनका साझा उम्मेदवार रहेका महतो यस पटक जसपा नेपाल परित्याग गरी जनमत पार्टीबाट पुनः चुनावी मैदानमा उत्रिएका छन् । अघिल्लो निर्वाचनमा तत्कालीन नेकपा एकीकृत समाजवादी, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का साझा उम्मेदवार धर्मनाथप्रसाद साह तेस्रो स्थानमा सीमित भएका थिए । यस पटक भने उनले पार्टी परिवर्तन गर्दै नेकपा एमालेबाट उम्मेदवारी दिएका छन् ।
यस निर्वाचनमा जसपा नेपालबाट पूर्व सूचना तथा सञ्चारमन्त्री राजकिशोर यादव, नेपाली कांग्रेसबाट चन्द्रकला यादव, रास्वपाबाट तपेश्वर यादव उम्मेदवार छन् । यस्तै, पूर्व न्याय तथा कानुनमन्त्री अजयशंकर नायक नेपाली कम्युनिस्ट पार्टीबाट र पूर्व विज्ञान तथा प्रविधिमन्त्री विसेन्द्र पासवान बहुजन समाजवादी पार्टीबाट उम्मेदवार बनेका छन् ।
इतिहास हेर्दा २०४६ सालपछि यस क्षेत्रमा तीन पटक कम्युनिस्ट पार्टी, एक पटक नेपाली कांग्रेस र एक पटक जनता समाजवादी पार्टीले जित हासिल गरेका छन् । शिक्षा, स्वास्थ्य, वातावरण, कृषि, पर्यटन र सामाजिक न्याय यहाँका मुख्य चुनावी मुद्दा भएपनि नयाँ र पुराना दलबीचको प्रतिस्पर्धाले बहसलाई थप तताएको छ ।
सिराहा ४ मा कुल ३६ जना उम्मेदवार भएपनि वास्तविक प्रतिस्पर्धा पाँच पूर्वमन्त्री र रास्वपाका उम्मेदवारबीच केन्द्रित हुने देखिएको छ । यस क्षेत्रमा १ लाख ६ हजार ६६८ मतदाता छन्, जसले यस निर्वाचनलाई निर्णायक बनाउने अपेक्षा गरिएको छ ।




