पर्सा । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पर्सा क्षेत्र नम्बर ३ बाट २३ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा उत्रिएका छन् । तीमध्ये १४ जना विभिन्न राजनीतिक दलका तर्फबाट र नौ जना स्वतन्त्र उम्मेदवार रहेका छन् । यस निर्वाचन क्षेत्रमा जनमत पार्टीले मात्र महिला उम्मेदवार उठाएको छ ।
कुल २३ उम्मेदवारमध्ये जनमत पार्टीकी मालती कुशवाहाबाहेक अन्य सबै २२ जना पुरुष उम्मेदवार छन् । महिला उम्मेदवारको न्यून उपस्थितिले यस क्षेत्रको चुनावमा लैंगिक प्रतिनिधित्वको बहसलाई पनि उठाएको छ ।
अघिल्लो प्रतिनिधिसभा निर्वाचनमा यस क्षेत्रबाट नेकपा (एमाले) का राजकुमार गुप्ता विजयी भएका थिए भने नेपाली कांग्रेसका सुरेन्द्र चौधरी झिनो मतान्तरले पराजित भएका थिए । चौधरी यस पटक नेपाली कांग्रेसबाट पुन: उम्मेदवार बनेका छन् ।
यता, विजयी भएका गुप्ता भ्रष्टाचार मुद्दामा हाल कारागारमा रहेकाले एमालेले उनलाई टिकट नदिई उनको स्थानमा रूपेश पाण्डेयलाई उम्मेदवार बनाएको छ । एमालेले सुरुमा प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री प्रमोद जयसवाललाई उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर जयसवालले पदबाट राजीनामा दिएपनि चुनावी प्रतिस्पर्धामा उत्रन अनिच्छा देखाएपछि पार्टीले निर्णय संशोधन गर्दै पाण्डेयलाई उम्मेदवार बनाएको हो ।
अन्य प्रमुख उम्मेदवारहरूमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट निर्माण व्यवसायी रामाकान्त चौरसिया, नेपाली कम्युनिस्ट पार्टीबाट छोटेलाल यादव र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट नवीनकुमार सिंह रहेका छन् । इन्जिनियर पेसामा रहेका सिंहले चुनावमा होमिनुअघि सरकारी सेवाबाट राजीनामा दिएका थिए ।
यसैगरी, जनता समाजवादी पार्टी (जसपा) नेपालबाट नागेन्द्र यादव, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) बाट सरोज साह, नेपाल जनता पार्टीबाट धर्मेन्द्र तिवारी, संयुक्त नागरिक पार्टीबाट शिवनाथ महतो, जय मातृभूमि पार्टीबाट राजकुमार यादव, उज्यालो नेपाल पार्टीबाट रामरूपप्रसाद साह, राष्ट्रिय मुक्ति पार्टीबाट मनोज पण्डित कुम्हाल र आम जनता पार्टीबाट महमद इस्तखार उम्मेदवार रहेका छन् ।
स्वतन्त्र उम्मेदवारहरूमा अजिज मियाँ धुनिया, जैनोद्दीन मियाँ हवारी, प्रदीपकुमार साह, बृजेश चौहान, राजकिशोर चौहान, रामबहादुर बरई, बृजकिशोर चौरसिया, साहिद अन्सारी र शिवशंकरप्रसाद रौनियार रहेका छन् ।
माघ ६ गते उम्मेदवारी दर्ता भएपनि निर्वाचन आचारसंहिता लागू भएकाले दल तथा स्वतन्त्र उम्मेदवारहरूले खुलेर चुनावी प्रचार प्रसार सुरु गरेका छैनन् । तर केही उम्मेदवारहरू सीमित सङ्ख्यामा कार्यकर्तासहित घर दैलो कार्यक्रम गर्दै आचारसंहिता उल्लंघन गरिरहेको देखिएको छ ।
निर्वाचन आचारसंहिता अनुसार मतदानको १७ दिन अघिदेखि मात्र प्रचार प्रसार गर्न पाइने व्यवस्था छ । साथै, एक उम्मेदवारले दुई पाङ्ग्रे, तीन पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधनमध्ये दुई थान मात्र प्रयोग गर्न पाउने प्रावधान भएपनि यसको पालना नगरेको गुनासो बढ्दै गएको छ ।
यसैगरी, चुनावी प्रचारका क्रममा प्रतिस्पर्धी उम्मेदवारलाई लक्षित गरी आचारसंहिता विपरीत अभिव्यक्ति दिने, सामाजिक सञ्जालमार्फत नकारात्मक प्रचार गर्ने प्रवृत्ति बढेपनि निर्वाचन अधिकृत तथा मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट त्यस प्रति प्रभावकारी अनुगमन भएको नदेखिएको स्थानीय बताउँछन् ।




