पश्चिम नवलपरासी । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) समूहबाट पश्चिम नवलपरासीका कम्तीमा पाँच जनालाई पदाधिकारीसहित केन्द्रीय समितिमा समावेश गर्न माग गरिएको छ ।
मंगलबार बसेको तत्कालीन लोसपा समूहको जिल्ला कार्यसमिति बैठकले जिल्लालाई पार्टीको केन्द्रीय संरचनामा न्यायोचित प्रतिनिधित्व नगराइएको भन्दै पार्टी संरक्षक महन्थ ठाकुरको ध्यानाकर्षण गराउने निर्णय गरेको जिल्ला अध्यक्ष मुकुरजी गिरीले बताए ।
बैठकले एक सहमहामन्त्रीसहित कम्तीमा पाँच जनालाई केन्द्रीय संरचनामा समायोजन गर्न माग गरेको छ । यस्तै, जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित लुम्बिनी प्रदेशका दुई मन्त्रीसहित चार सांसदलाई गरिएको कारबाही तत्काल फिर्ता लिन पनि बैठकले माग गरेको छ ।
यसैबीच, गत आइतबार परासीमा आयोजित अगुवा कार्यकर्ता भेलामा जसपा अध्यक्ष उपेन्द्र यादवले सम्बोधनका क्रममा आफूमाथि अभद्र व्यवहार गरेको भन्दै जिल्ला अध्यक्ष गिरीले आपत्ति जनाए ।




