जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादव फिलिपिन्सको राजधानी मनिला प्रस्थान गरेका छन् । भदौ ३० र ३१ गते मनिलामा आयोजना हुने ‘थर्ड क्लाइमेट एडप्टेसन इन्भेस्टमेन्ट प्लानिङ फोरम २०२६’ मा सहभागी हुन मुख्यमन्त्री यादव आइतबार राति त्यसतर्फ प्रस्थान गरेका हुन् ।
फोरममा उनले जलवायु परिवर्तनका कारण मधेश प्रदेशले भोगिरहेका चुनौती, जलवायु अनुकूलनका प्राथमिकता तथा त्यसका लागि आवश्यक लगानी र सहकार्यका विषयमा आफ्नो धारणा राख्ने कार्यक्रम छ । मुख्यमन्त्रीसँगै कृषि निर्देशनालयका निर्देशक जितेन्द्र यादव पनि फोरममा सहभागी हुनेछन् ।
जलवायु परिवर्तनको प्रत्यक्ष प्रभावबाट प्रभावित प्रदेशमध्ये मधेश पनि प्रमुख हो । पछिल्ला वर्षमा बाढी र डुबानसँगै सुख्खा, कृषि उत्पादनमा आएको अस्थिरता, भूमिगत पानीको संकट तथा अत्यधिक गर्मीका कारण प्रदेशको अर्थतन्त्र र जनजीवनमा थप चुनौती सिर्जना हुँदै आएको छ ।
यस्तो अवस्थामा अन्तर्राष्ट्रिय मञ्चमा मधेशले भोगिरहेका जलवायुजन्य जोखिम, अनुकूलनका प्राथमिकता र आवश्यक लगानीका विषय उठाउनु मुख्यमन्त्रीको भ्रमणको प्रमुख उद्देश्यका रूपमा हेरिएको छ ।
विशेष गरी जलवायुजन्य विपद् न्यूनीकरणसँगै कृषि, खानेपानी, सिँचाइ, पूर्वाधार र दिगो विकासका क्षेत्रमा अन्तर्राष्ट्रिय लगानी तथा सहकार्य जुटाउन फोरम उपयोगी हुने अपेक्षा गरिएको छ ।
नेपाली कांग्रेसका प्रभावशाली नेता चन्द्रशेखर कुमार यादवका अनुसार भ्रमणका क्रममा मधेशले जलवायु परिवर्तनका कारण भोगिरहेका बाढी, डुबान, सुख्खालगायत जोखिम न्यूनीकरण, अनुकूलन तथा लगानीका सम्भावनाबारे अन्तर्राष्ट्रियस्तरमा अनुभव आदानप्रदान हुनेछ ।
उनले जलवायु अनुकूलनका क्षेत्रमा अन्तर्राष्ट्रिय सहकार्य र लगानी बढाउँदै मधेशलाई थप सुरक्षित, दिगो र समृद्ध बनाउने प्रयासलाई निरन्तरता दिनुपर्ने बताए । जलवायु परिवर्तनलाई विपद् व्यवस्थापनको विषयमा मात्रै सीमित नराखी लगानी, पूर्वाधार विकास र कृषि रूपान्तरणसँग जोडेर अघि बढाउन सके मधेशले दीर्घकालीन लाभ लिन सक्ने देखिन्छ ।
तर, अन्तर्राष्ट्रिय फोरममा सहभागिता जनाउनु मात्रै पर्याप्त नहुने देखिन्छ । सम्मेलनबाट प्राप्त ज्ञान, अनुभव, सम्भावित साझेदारी र लगानीका अवसरलाई प्रदेशमा व्यवहारिक रूपमा कार्यान्वयन गर्न सक्नु सरकारका लागि मुख्य चुनौती हुनेछ ।




